चैत ५ देखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

चितवन, ३ चैत – हरेक वर्ष चैतेदसैँको समयमा आयोजना हुने विक्रमबाबा पूजास्थल मा यस वर्ष चैत ५ गतेदेखि १९ गतेसम्म पूजा गर्ने तयारी सुरु गरिएको छ। पूजास्थल राप्ती पुलबाट करिब दुई किलोमिटर भित्र रहेको छ, जहाँ दर्शन र पूजापाठ गरिन्छ। यो परम्परागत पूजा विशेषगरी थारू जाति मा प्रचलित छ। यद्यपि, पछिल्ला वर्षमा सबै समुदायका मानिसहरूले पनि यसमा भाग लिन थालेका छन्।

सन्तान प्राप्ति, सुख-समृद्धि र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पूजाको आयोजना गरिन्छ। भरतपुर महानगरपालिका–२३ को संरक्षकत्वमा मेला व्यवस्थापनको काम भइरहेको छ। वडाध्यक्ष दीपक दवाडी का अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनी कक्ष व्यवस्थापन र स्वास्थ्य समिति गठन गरिसकिएको छ।

केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडी को संयोजकत्वमा पूजा व्यवस्थापन सुरु गरिएको छ। यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू पनि संलग्न छन्।

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनी कक्ष निर्माण गरी वितरण गरिने छ। सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्थापन हुने जनाइएको छ। विगत वर्षको अनुभवअनुसार यस वर्ष करिब छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ।

पूजा र मेलाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा सुनिश्चित गरिने छ। राप्ती पुलमा भक्तजनहरूको भीड व्यवस्थापनका लागि नगरप्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ।

Facebook Comments Box