अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक नदीमा खस्यो, चालक गम्भीर घाइते
अरुण नदी, १६ फागुन – मकालु गाउँपालिका–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमाथि निर्माण गरिएको बेलीब्रिज आज बिहान भाँचिएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार बिहान करिब ९ः०० बजे सिमेन्ट बोकेको प्रदेश–०३–००१ क २९२० नम्बरको लोवेट ट्रक पुल तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । पुल भाँचिँदा ट्रक सिधै नदीमा खसेको थियो ।
दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइते चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन कासुवा हाइड्रोपावर परियोजनाका लागि सामग्री बोकेर गएको उक्त ट्रक पुल भाँचिएसँगै नदीमा खसेको हो । पुल भत्किएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।
यस मार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिने भएकाले पुल भाँचिँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ ।
पुल मर्मत तथा वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकाय र कासुवा हाइड्रोपावर कम्पनीबीच समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

