दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ, ९ फागुन – दाङको तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको हो।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नै पक्राउ गरिएको थियो। प्रहरीले झण्डा जलाउने घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन रवि लामिछानेबालेन्द्र शाह आउने खबरपछि तुलसीपुरको वीरेन्द्र चोकमा समर्थकहरूको भीड जम्मा भएको थियो। सोही क्रममा एमालेको झण्डा जलाइएको घटना भएको बताइएको छ।

उक्त घटनाप्रति एमालेले विरोध जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Facebook Comments Box