जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु
म्याग्दी, १ फागुन – बेनी बजारसँगै रहेको जलजला गाउँपालिका ले पालिकाभित्रका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित गर्न पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँगको लागत साझेदारीमा १८ स्थानका शवदाहस्थलमा पूर्वाधार निर्माण गरी व्यवस्थित बनाउने योजना अघि बढाइएको हो। जलजलाका अधिकांश घाट कालीगण्डकी नदी किनारमा अवस्थित छन्।
लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्ती नजिकका घाटहरू पनि यस योजनामा समेटिएका छन्। रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन ले निर्माण कार्य सुरु गरिसकेको छ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार पानी परेको अवस्थामा पनि शवदाह गर्न मिल्ने सत्तल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने स्थान, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानेपानी तथा विद्युत् सुविधा जस्ता आधारभूत संरचना निर्माण गरिनेछ। राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि गरिएको प्रस्ताव स्वीकृत भएपछि योजना कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षभित्रै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शवदाहस्थल नजिकै हिन्दू संस्कारअनुसार आवश्यक पर्ने बर र पिपलका बिरुवा रोपेर संरक्षण समिति गठन गरी समुदायलाई हस्तान्तरण गरिनेछ। व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने तथा मलामीहरूले गर्मी र वर्षामा कठिनाइ भोग्नुपर्ने समस्या रहँदै आएको थियो।
यसअघि जलजला गाउँपालिका–६ शालिजामा दुईवटा घाट निर्माण भई प्रयोगमा छन्। नयाँ योजनाअन्तर्गत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारका अन्य घाटहरू व्यवस्थित बनाइनेछ।

