पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की, १ फागुन – पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि सङ्कलन गर्न सुरु गरिएको छ। बजार क्षेत्रका सडक छेउ र चोकमा थुप्रिएको फोहर लामो समयसम्म नउठ्दा सहर दुर्गन्धित बनेको थियो।

पोखरा–३२ लामेआहालस्थित अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठाउन समस्या भएको थियो। फोहर व्यवस्थापनका लागि महानगरपालिकाले वैकल्पिक स्थान खोजी गरे पनि सफल हुन सकेको थिएन। सडक किनार, चोक, बिजुलीका पोल वरिपरि मात्र नभई मुख्य सडकमै फोहर थुप्रिएपछि बजार क्षेत्रमा दुर्गन्ध फैलिएको थियो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार बिहीबार साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा ल्याइएको छ। उहाँले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विसर्जन नगर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। “तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी समाधानका लागि महानगर सक्रिय छ। हालका लागि केही प्रबन्ध गरेका छौँ। धेरै दिनदेखि सङ्कलन हुन नसकेकाले सुरुका एक–दुई दिन केही बढी चाप हुन सक्छ,” प्रमुख आचार्यले भन्नुभयो।

शनिबारसम्म हाल जम्मा भएको सम्पूर्ण फोहर उठाइसक्ने लक्ष्य रहेको महानगरले जनाएको छ। सार्वजनिक स्थानमा जथाभावी फोहर फालेको पाइएमा अनुगमन टोलीमार्फत कारबाही गरिने चेतावनी पनि दिइएको छ। पोखरामा जेनजी आन्दोलनका क्रममा ठूलो परिमाणमा फोहर सङ्कलन भएपछि लामेआहालको ल्यान्डफिल साइट भरिएको थियो। त्यसपछि नयाँ स्थान खोज्ने प्रयास स्थानीयको विरोधका कारण सफल हुन सकेको थिएन।

महानगरले बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाई ७२ घण्टाभित्र फोहर उठाउने र राजनीतिक दलहरूले सहयोग गर्ने सहमति जुटाएको थियो। यसैबीच, पोखरा–३३ मा फोहर प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढाइएको छ। तर स्थानीयवासीले समन्वय र सहमतिबेगर निजी कम्पनी छनोट गरी प्रक्रिया अघि बढाइएको भन्दै विरोध जनाएका छन्। विरोधका कारण प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्न सकेको छैन।

Facebook Comments Box