तीन फर्मलाई ३० हजार जरिवाना
काठमाडौँ, १९ माघ – नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई कुल ३० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार र शीतल खाद्यान्न स्टोर, ललितपुरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको व्यवस्था पालना नगरेकाले कारबाही स्वरूप जरिवाना गरिएको विभागले जनाएको छ। यसैबीच, चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
साथै, अनुगमनका क्रममा अन्य १० वटा फर्मलाई सुधारात्मक निर्देशनसमेत दिइएको विभागले जानकारी दिएको छ। स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नियमित अनुगमन गर्दै आएको जनाएको छ।

