अल्पायुमै अस्ताए प्रशान्त तामाङ

काठमाडौँ, २८ पुस – सन् २००७ मा भारतीय रियालिटी शो इन्डियन आइडल–३ को उपाधि जित्दै विश्वभरका नेपालीमाझ चर्चित बनेका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । आइतबार बिहान तामाङको निधनको खबर फैलिएसँगै दार्जिलिङसहित विश्वभरका नेपालीभाषी समुदाय शोकमा डुबेका छन् ।

भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउन मात्र होइन, विजेता पनि बन्न सक्छन् भन्ने आत्मविश्वास जगाउने व्यक्तित्वका रूपमा तामाङ परिचित हुनुहुन्थ्यो । उहाँको जितपछि नेपालीभाषी प्रतिभाहरू भारतीय टेलिभिजन कार्यक्रममा निरन्तर देखिन थालेका थिए ।

इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपाली समुदायले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै सञ्चालन गरेको थियो । सो अभियानमा गीतकार तथा चलचित्र निर्माता राजेश घतानीसहित नेपाल र भारतका विभिन्न कलाकार तथा सञ्चारकर्मी सक्रिय थिए । निर्माता घतानीका अनुसार तामाङलाई विजेता बनाउन दार्जिलिङ पुगेर कार्यक्रम आयोजना गरिएको थियो र त्यहाँ संकलित रकम मतदान अभियानमा प्रयोग गरिएको थियो ।

उक्त अभियानमा नेपालबाट हेयर डिजाइनर निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत सहभागी थिए । दार्जिलिङमा आयोजना गरिएका विभिन्न कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायतको पनि सहभागिता रहेको घतानीले जानकारी दिनुभयो ।

इन्डियन आइडलको उपाधिपछि तामाङ नेपाली चलचित्र हिम्मत–२ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो । निर्देशक दीपक श्रेष्ठले उक्त चलचित्रका सबै गीत तामाङको स्वरमा रेकर्ड गराएका थिए । निर्देशक श्रेष्ठका अनुसार विश्वभरका नेपालीले माया गरेको स्वर नेपाली चलचित्रमा ल्याउने उद्देश्यले तामाङलाई पाश्र्व गायनमा भित्र्याइएको हो । उहाँको सरल स्वभाव र विनम्रता सबैका लागि प्रेरणादायी रहेको निर्देशक श्रेष्ठले स्मरण गर्नुभयो ।

पछि तामाङले चलचित्र गोर्खा पल्टन बाट अभिनय यात्रा सुरु गर्नुभयो । सो चलचित्रमा उहाँले निर्वाह गर्नुभएको लाहुरेको भूमिकासँगै ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ गीत अत्यन्त लोकप्रिय बनेको थियो । त्यसपछि उहाँ अँगालो यो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी, परदेशी–२ लगायतका चलचित्रमा देखिनुभयो । गत ५ मङ्सिरमा प्रदर्शन भएको पहिचानको लडाइँ उहाँको अन्तिम नेपाली चलचित्र बनेको छ ।

अभिनयमा सक्रिय रहँदै तामाङले आफूलाई गायकभन्दा बढी अभिनेताका रूपमा स्थापित गर्नुभयो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको चर्चित श्रृङ्खला पाताल लोक मा अभिनय गरेपछि उहाँको चर्चा भारतमा पनि चुलिएको थियो । त्यसपछि उहाँ भारतीय अभिनेता सलमान खानको चलचित्र ब्याटल अफ गलवान मा अनुबन्धित हुनुभयो । भारत–चीनबीचको गलवान झडपमा आधारित उक्त चलचित्र आगामी वैशाख ४ गते प्रदर्शन हुँदैछ । चलचित्रको छायाङ्कन सकेर उहाँ स्वराङ्कनको तयारीमा रहँदा दिल्लीमै निधन भएको हो ।

कोभिड–१९ का कारण आमाको निधन भएपछि तामाङ परिवारप्रति अझै समर्पित बन्नुभएको थियो । निर्माता घतानीका अनुसार काम विशेषले पत्नी घर बाहिर रहँदा उहाँ तीन वर्षीया छोरीको हेरचाहमा समय बिताउनुहुन्थ्यो । आमाको अन्त्येष्टिमा सहभागी हुन नपाएको पीडाले उहाँलाई जीवनभर सताएको र त्यसकै कारण छोरीलाई विशेष माया गर्ने गरेको परिवारजनले बताएका छन् ।

तामाङले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गर्नुभएको थियो भने सन् २०२२ मा उहाँकी छोरी जन्मिएकी थिइन् । उहाँको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानपूर्वक अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले नयाँ दिल्लीबाट शव दार्जिलिङ ल्याउने व्यवस्था मिलाएको जनाएको छ ।

हाल दिल्लीस्थित दिनदयाल अस्पतालमा शवपरीक्षण भइरहेको छ । नेपाली भाषा, गीतसङ्गीत र अभिनयमार्फत विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोड्न सफल प्रशान्त तामाङ सधैँ नेपाली मन–मनमा जीवित रहनेछन् ।

Facebook Comments Box