आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमालमा हिमपात
काठमाडौँ, २० पुस – आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका धेरै स्थानमा कुहिरो लाग्ने सम्भावना छ। यसैगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै तराईका भूभागमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

