आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस
काठमाडौँ, १७ पुस – ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विभिन्न युवा संस्थाको आयोजनामा विगत १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।नेपाली पहिचान झल्काउने दौरा–सुरुवाल, टोपी तथा गुन्यु–चोलीलाई युवामाझ प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०७० देखि प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएपछि राष्ट्रिय पोसाकको संरक्षण र पुनर्जागरणमा सहयोग पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

