प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु
भोजपुर, १५ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे सचेत गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले कार्यक्रम सञ्चालन गरेको हो।
विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूमार्फत घरपरिवार र समुदायसम्म सचेतना विस्तार गर्ने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो।
प्रमुख सुवेदीले विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम २०८२ अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। “विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मतदाता शिक्षा पुर्याउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
मुख्य रूपमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो। निर्वाचन कार्यालयले विद्यालयलाई केन्द्रमा राखेर सञ्चालन गरिरहेको यो कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा आगामी निर्वाचनमा एक लाख २५ हजार ७ सय ६६ मतदाता सहभागी हुनेछन्। मतदाता शिक्षा कार्यक्रमले निर्वाचनप्रति जनचासो बढाउनुका साथै जिम्मेवार र सचेत मतदाता तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

