तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
म्याग्दी, १३ पुस – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि पुनः अध्ययन सुरु भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त कम्पनी एमएस दोङयी मिनरल्स प्रालि ले मच्छिम क्षेत्रमा तामाखानीको खोजतलास तथा सम्भाव्यता अध्ययन थालेको हो।
मच्छिम गाउँ नजिकैको पाखोमा रहेका छ स्थानका तामाखानी करिब पाँच दशकदेखि बन्द अवस्थामा छन्। धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार तामाको मात्रा र गुणस्तर पहिचान गर्न भूगर्भविद्हरूको टोली खानी क्षेत्रमा खटिएको छ। अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि खानीसम्म पहुँचमार्गसमेत निर्माण गरिएको छ।
खोजतलास र सम्भाव्यता अध्ययनपछि अर्को चरणमा उत्खनन प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। खानी उत्खननका लागि अध्ययन सुरु भएपछि मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताउनुभयो।
छन्त्यालका अनुसार मच्छिमको तामाखानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकालिन्थ्यो। प्रविधिको अभाव र आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्थाका कारण खानी बन्द भएको उहाँले बताउनुभयो। छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने भएकाले मच्छिम क्षेत्रमा उनीहरूले बस्ती बसाएको ऐतिहासिक पृष्ठभूमि रहेको छ। अहिले पनि खानीका सुरुङ, तामाका धाउ र पहाडमा रसाएको तामा देख्न सकिन्छ।
त्यतिबेला स्थानीयवासीले सुरुङभित्र घन–छिनो प्रयोग गरी तामा निकाल्ने र त्यसबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडाकुँडा निर्माण गर्ने गर्थे। ती भाँडाकुँडा आज पनि कतिपय स्थानीयको घरमा सजावटका रूपमा सुरक्षित छन्।
यद्यपि, वातावरणीय सन्तुलन र विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै उत्खनन कार्यमा सतर्कता अपनाउनुपर्ने तथा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग मच्छिमवासी कुलबहादुर छन्त्यालले गर्नुभयो। सोही कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ।
खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दी जिल्लामा तामा, फलाम, क्वार्ज, चुनढुङ्गा, स्लेट, मार्बल तथा तातोपानीका मुहान (हटस्प्रिङ) पाइन्छन्। जिल्लामा पाइने खनिजमध्ये तामा प्रमुख मानिन्छ। मच्छिमसँगै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी र मङ्गलेखानीमा तामाखानी रहेका छन् भने धवलागिरिको नर्जा तथा मालिकाको रुम, डाँडागाउँ र निस्कोट क्षेत्रमा स्लेट ढुङ्गा खानी रहेका छन्।

