धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी, ४ पुस – धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण उड्ने धुलोले वायु प्रदूषण बढेको छ। निर्माणस्थलमा प्रयोग गरिएका डोजरले पाखामा फालेको माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण स्थानीयवासीको दैनिकी प्रभावित भएको छ।

धुलोका कारण सडकमा हिँडडुल गर्न, घाँसदाउरा संकलन गर्न कठिनाइ भएको छ भने गाईवस्तुको चरन क्षेत्र र आहारा घाँसपातसमेत नष्ट भएको स्थानीयको गुनासो छ। मुदी, खिवाङ, बगर, खाम्ला, बाँसबोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी र नाउरालगायतका बस्तीका बासिन्दा धुलोबाट आजित भएका छन्।

धवलागिरि गाउँपालिका–४ छहरीदेखि खारा हुँदै खाम्ला तथा वडा नं ३ दरदेखि सिम्वाङ हुँदै मुदी जोड्ने सडकखण्डमा धुलोका कारण वायु प्रदूषण बढेको स्थानीयले बताएका छन्। मुना–दर–मुदी सडकको सिम्वाङ क्षेत्रमा दरखोला जलविद्युत् आयोजनाको पाइपलाइन निर्माणका लागि डोजर प्रयोग गरी सडकको भित्ता काट्ने काम भइरहेको छ।

छहरी–खारा–खाम्ला सडकखण्डमा अपर म्याग्दी, अपर म्याग्दी–१, म्याग्दीखोला जलविद्युत् आयोजनाका निर्माण सामग्री बोकेका ट्रक र टिपरको निरन्तर ओहोरदोहोरले धुलो झनै बढेको छ। खिवाङका बासिन्दा लीलबहादुर घर्तीले धुलोले खेतीबाली र मानव स्वास्थ्यमा असर पारेको बताउनुभयो।

“विकासका आयोजना भित्रिएकामा खुसी छौँ,” उहाँले भन्नुभयो, “तर हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे हुँदा दुःखी भएका छौँ। विकास होस्, तर वातावरण विनास नहोस् भन्ने हाम्रो चाहना हो।” खाराका ज्ञानबहादुर पुनका अनुसार गाईवस्तुलाई खुवाउने घाँस, फलफूल र तरकारीका पात धुलोले ढाकिएपछि उपभोग गर्नै नमिल्ने भएको छ।

“घरबाहिर गएर फर्किँदा शरीरभरि धुलो टाँसिन्छ,” उहाँले भन्नुभयो, “सुकाएका कपडासमेत फोहोर हुन्छन्। पानीका स्रोत दूषित भएका छन्, खकार र सिँगानमा समेत धुलो देखिन थालेको छ।” खाम्लाका केशरमान पुनले सवारीसाधनभित्र सिसा बन्द गर्दा उकुसमुकुस हुने र झ्याल खोल्दा सबै भित्र धुलो पस्ने समस्या रहेको बताउनुभयो।

“मोटरसाइकल वा गाडीको पछाडि यात्रा गर्नेको अनुहारै नचिनिने अवस्था हुन्छ,” उहाँले भन्नुभयो, “आयोजनाले सडकमा पानी नहालेकाले वायु प्रदूषण बढेको हो।”  जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएका धुलो तथा प्रदूषण नियन्त्रणसम्बन्धी प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले आयोजनालाई सचेत गराइएको बताउनुभयो।

कात्तिक दोस्रो सातादेखि वर्षा नहुँदा मौसम थप सुक्खा बनेको उहाँले उल्लेख गर्नुभयो। अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले भारवाङस्थित विद्युत्गृहदेखि छहरीसम्म तथा खाम्लादेखि बाँध निर्माणस्थलसम्म ट्याङ्करबाट बिहान–बेलुकी सडकमा पानी हाल्दै आएको जनाएको छ। यस्तै, अपर म्याग्दी आयोजनाले घिम्लेटीदेखि चेचुङको फेदीसम्म धुलो नियन्त्रणका लागि पानी हालिएको जानकारी दिएको छ।

अपर म्याग्दी–१ आयोजनाका प्रमुख ज्योतिकुमार केसीले छहरी–खारा–खाम्ला सडक स्तरोन्नतिको जिम्मा लिएको सहायक ठेकेदारले ढिलाइ गर्दा धुलो नियन्त्रणमा समस्या भएको बताउनुभयो। “स्थानीय सब–कन्ट्रयाक्टरले नाली, पर्खाल र सोलिङको काम ढिलो गर्दा धुलो नियन्त्रण चुनौती बनेको छ,” उहाँले भन्नुभयो।

लुना विल्डर्सका सहायक ठेकेदार तथा चोचाङ्गी पुन कन्स्ट्रक्सनका सञ्चालक दलमान पुनले सडक संरचना निर्माण आफ्नो जिम्मेवारी भए पनि धुलो मार्ने काम आयोजनाकै दायित्व भएको बताउनुभयो। अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रमुख रमेश सुवेदीले आफ्नो आयोजना क्षेत्रमा धुलो नियन्त्रण भइरहेको र नाउरादेखि बगरसम्मको सडकमा म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरी प्रदूषण नियन्त्रण गरिने बताउनुभयो।

Facebook Comments Box