माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान
सङ्खुवासभा, १ पुस – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईका अनुसार आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला गाउँपालिका–२ र ४ का राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रहेका दुई हजार १६८ वटा रुख कटान गरिएको हो।
आयोजना र पहुँच मार्गका लागि भोटखोला–४ स्थित राष्ट्रिय वन तथा भोटखोला–२ का पारीपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्र गरी करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा रुख कटान गरिएको वन कार्यालयले जनाएको छ। उक्त आयोजनाले २५ वर्षसम्म वन क्षेत्र प्रयोग गर्न अनुमति पाएको छ।
यससँगै माथिल्लो अरुण आयोजनाको पहुँच मार्ग निर्माणको काम द्रुत गतिमा अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापास्थित कन्काइ सुरुङ्गा जेभीसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको जनाएको छ।
पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ। भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म निर्माण हुने उक्त पहुँच सडकको लागत सात अर्ब ९१ करोड ३९ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
यसैगरी जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म १४ हजारभन्दा बढी रुख कटान भइसकेको छ। डिभिजन वन कार्यालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ वटा रुख काटिएका छन्।
वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका छ स्थानीय तहका वन क्षेत्र प्रयोग गर्दै ११ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन्। विद्युत् प्रसारण विस्तारका लागि मात्रै सरकारी वन क्षेत्रमा रहेका पाँच हजार ४०० वटा रुख कटान गरिएको छ।

