ठेला व्यवसायमै स्वाभिमान बोकेर अघि बढ्दै करनबहादुर ऐर
कञ्चनपुर, २६ मङ्सिर – शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिहानै पुग्ने जो–कसैले सडकछेउ अडिएको एउटा ठेला र त्यसलाई सम्हालिरहेका करनबहादुर ऐरलाई देख्नु अपरिचित हुँदैन। पैसठ्ठी वर्ष उमेर नजिकिँदा पनि उहाँका आँखामा दैनिकी चलाउने दृढता झन् बलियो झल्किन्छ।
उज्यालो फाट्नासाथ चार किलोमिटर टाढाको घरबाट पैदल हिँडेर उहाँ झलारी बजार आइपुग्नुहुन्छ। धेरैले उहाँलाई नामभन्दा बढी मेहेनतका कारण चिन्छन्। फलफूल, खेलौना, विस्कुट, चाउचाउ, कुरकुरे, बदामजस्ता सामानले भरिएको ठेलामा धेरै भव्यता नदेखिए पनि यही व्यवसाय उहाँका परिवारको आधार बनेको छ।
दशकअघिदेखि सुरु गरेको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ। करिब २० हजार रुपैयाँ लगानीमै चलेको ठेलाले उहाँलाई दैनिक एक हजारदेखि एक हजार ५ सय रुपैयाँसम्म कमाइ दिन्छ। सडक छेउ भएकै कारण सवारी चालक, परिचालक तथा यात्रु नै प्रमुख ग्राहक हुन।
“ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, उपचार–सबैमा पुग्छ,” ऐर भन्छन्, “पाखुरी चल्दासम्म कसैको भर पर्नु परेन, जति कमाइ हुन्छ, त्यहीले घर चल्छ। अरूकहाँ हात फैलाउन मन लाग्दैन।” दुई छोराबाबजुद ऐर दम्पतीले आफ्नै मेहनतमा जीवनयापन गरिरहेका छन्।
उमेरले विश्राम खोज्ने, छोराबुहारीको भर पर्नुपर्ने समय मानिने बेलामा पनि ऐर आफ्नै पौरखमा टिकिरहनुभएको छ। उहाँका काममा श्रीमती नै प्रमुख सहारा बन्नुहुन्छ। “दुई जनाले मिलेर चलाउँछौँ, यसैले घर सजिलै चल्छ,” उहाँ बताउनुहुन्छ।
व्यवसायसँगै ऐर गाउँका पुराना अगुवा मानिनुहुन्छ। झलारी गाविसका पूर्व–वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य तथा असिग्राम माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षका रूपमा उहाँले गरेका काम उहाँको सामाजिक योगदानका प्रमाण हुन्।
“समाजका लागि सकेजति गरेँ,” उहाँ भन्छन्, “अब बाँकी जीवनका लागि आफैले केही गर्नुपर्छ।” झलारी बजारमा आवतजावत गर्नेको नजरमा उहाँ अनुशासन, समयपालन र विनम्र व्यवहारले पहिचान बनाइसक्नुभएको छ। साँझ पर्नासाथ बजार सुस्ताउँदै जान्छ।
पसल–होटलका बत्ती बल्न थाल्छन्। त्यही बेला ऐर आफ्नो ठेलाका सामान समेटेर नजिकैका पसलमा राखेर घर फर्कनुहुन्छ। भोलिपल्ट पनि उस्तै मेहनत, उस्तै अनुशासन। थकानले रोक्दैनन् उहाँलाई—जीवनले सिकाएको आत्मनिर्भरता नै उहाँलाई निरन्तर अघि बढाइरहेछ।

