एनपीएलमा आज एलिमिनेटर : काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने
काठमाडौँ, २७ मङ्सिर – काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बुधबार) हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ।
लिग चरणमा क्रमशः तेस्रो र चौथो स्थानमा रहेका काठमान्डु र लुम्बिनी आजको एलिमिनेटरमा भिड्दै छन्। यो खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससमक्ष ७७ रनले पराजित विराटनगर अब दोस्रो क्वालिफायर खेल्न बाध्य बनेको हो।
आजको एलिमिनेटर हार्ने टोलीका लागि भने यात्रै समाप्त हुनेछ। त्यसैले दुवै टोली पूर्ण तयारीसहित मैदान उत्रने अनुमान गरिएको छ। लिग चरणको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो। लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछिका तीन खेलमा हार ब्यहोरेको थियो। तर समान तीन खेल लगातार जित्दै टोली चौथो स्थान सुरक्षित गर्दै प्लेअफमा प्रवेश गरेको हो। लिगका सात खेलमध्ये चार विजय र तीन हारसहित लुम्बिनीले ८ अंक जोडेको थियो।
यता काठमान्डुले पाँच खेलमा जित र दुई खेलमा हार गर्दै १० अंकसहित तेस्रो स्थान हासिल गरेको थियो। विराटनगरसँग अंक बराबर भए पनि नेट रनरेट कमजोर रहेकाले काठमान्डु तेस्रो स्थानमा झरेको हो। आजको खेलले उपाधि दौडमा कसले यात्रा जारी राख्नेछ ? भन्ने प्रश्नको जवाफ दिनेछ।

