व्यवसायीले कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाए
कर्णाली, २३ मङ्सिर – प्राकृतिक सम्पदा, संस्कृति र सभ्यताले समृद्ध कर्णालीमा लगानीका प्रशस्त सम्भावना हुँदाहुँदै पनि उपयुक्त वातावरण नबनेको भन्दै उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन्।
सुर्खेत, वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले प्रचुर सम्भावना हुँदाहुँदै उद्योग–व्यवसाय निराशाजनक अवस्थामा पुगेको भन्दै सरकारको कमजोरीप्रति गुनासो व्यक्त गर्नुभयो। जल, जङ्गल, जमिन, जडीबुटी र रत्न–पत्थरका खानी जस्ता स्रोतलाई व्यवस्थित रूपमा उपयोग गरी लगानी भित्र्याउन प्रदेश सरकार असफल भएको उहाँको आरोप छ।
शाहीले कोभिड–१९, भूकम्प, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, बैंकको बढ्दो ब्याजदर लगायतका चुनौतीले थला परेको निजी क्षेत्रलाई उठाउन सरकारले पर्याप्त भूमिका नखेलेको बताउनुभयो। उहाँका अनुसार व्यवसायीको मनोबल उच्च बनाउन र विकासमा सहकार्य गर्न मुख्यमन्त्री यामलाल कँडेललाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो।
ध्यानाकर्षण पत्रमा कर्णाली राजमार्ग सुधार गरी २४ घण्टा निरन्तर सञ्चालन गर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअप उद्यमी कार्यक्रम सञ्चालन गर्ने, कर्णालीमा आन्तरिक नियमित हवाई उडान व्यवस्था गर्ने, सरकारी होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्ने, कोसेली गृह निःशुल्क सञ्चालन तथा आवश्यक नीतिगत सुधार गर्ने माग समावेश छन्।
यसबाहेक, मेला–महोत्सव सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने, प्रदेशस्तरीय औद्योगिक पर्यटन तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन गर्ने, लघु औद्योगिक ग्रामका उद्यमीलाई भाडा दर घटाई सम्झौता अवधि बढाउने, र कर्णाली राजमार्गलगायत प्रमुख बजार क्षेत्रमा होटल व्यवसाय २४ घण्टा सञ्चालन गर्न दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिनुभयो।

