एनपीएलमा काठमाडौं गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित
काठमाडौं, ९ मंसिर – काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो दोस्रो जित दर्ता गरेको छ। मंगलबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्यो।
चार खेलमा दुई जितसहित काठमाडौंले ४ अंक बटुलेको छ र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेका थियो भने त्यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो।
लुम्बिनीका लागि भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।
१५९ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमै सबै विकेट गुमाउँदै १३५ रनमा समेटियो। लुम्बिनीका शेर मल्लले २७ तथा दिलीप नाथले २५ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।
काठमाडौंको बलिङमा मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट लिए। कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान एक–एक विकेट हात पारे।

