आज देशभर राम–सीताको पूजा गरी विवाह पञ्चमी मनाइँदै
काठमाडौँ, ९ मङ्सिर – त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको स्मरणमा आज देशभर विशेष पूजा–अर्चना गर्दै विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज राम–सीताको भव्य विवाह महोत्सव विधिपूर्वक हुँदैछ।
गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणका आधारमा जनकनन्दिनी सीताको विवाह भएको शुभ दिनका रूपमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार मिथिलाका राजा जनकले राखेको स्वयंवरमा अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले शिवधनुष भाँचेर सीताको वरण गर्नुभएको थियो। यही दिन मार्गशीर्ष शुक्ल पञ्चमीका रूपमा पर्व मनाइन्छ।
जनकपुरधामको रङ्गभूमिमा आयोजित स्वयंवरमा ५६ कोटी देवताको अदृश्य उपस्थिति रहेको मानिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा सम्मान गर्ने मिथिलावासीहरू प्रतिचाया जन्तीको रूपमा महोत्सवमा सहभागी हुने विश्वास परम्परागत रूपमा प्रचलित छ।
महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छन्। राम मन्दिरबाट बाजागाजा र झाँकीसहित रामको मूर्तिलाई विशेष डोला सिंहासनमा र जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रङ्गभूमिसम्म पुर्याइन्छ। त्यहाँ स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि दुबैलाई पुनः जानकी मन्दिरमा ल्याइन्छ र मिथिला संस्कारअनुसार विवाह गरिन्छ।
यस अवसरमा जनकपुरधाममा निस्कने डोला शोभायात्रामा स्थानीयवासीसहित सीमावर्ती भारतीय क्षेत्रका भक्तजनसमेत सहभागिता जनाउँछन्। रङ्गभूमिमा वर–बधु पक्षबीचको हाँसो–ठट्टा, विविध झाँकी र लाखौँ भक्तको भीडले वास्तविक विवाहको झल्को दिने वातावरण बनाउँछ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित चार दिनका लागि मनाइँदै आएको छ। देशभरका राम–सीता मन्दिरहरूमा पनि आज विशेष पूजा–आराधना भइरहेको छ। यस दिन विवाह गर्न साइत नचाहिने संस्कार पनि प्रचलित छ।

