अमाह सिमसार लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै

सुनसरी, ७ मङ्सिर – बराहक्षेत्र नगरपालिका–४ र ५ मा अवस्थित अमाह सिमसार पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा उभिँदै गएको छ। करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसार हरियाली जंगलबीचको सुन्दर प्राकृतिक भूदृश्यका कारण दैनिक हजारौँ पर्यटक आकर्षित गर्दै आएको छ।

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार मौलिक प्राकृतिक वातावरण, खुला हरियाली क्षेत्र र सिमसारभित्र निर्माण गरिएका चार ठूला पोखरी मुख्य आकर्षण हुन्। एक समय जीर्ण अवस्थामा रहेका पोखरीहरू संघीय तथा प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण गरिएपछि अहिले विभिन्न प्रजातिका माछा राखिएको छ र अवलोकनका लागि पर्यटकको भीड बढेको छ।

सिमसारभित्र रहेको अमाह देवीथान मन्दिर धार्मिक पर्यटकको प्रमुख गन्तव्य मानिन्छ। उधौली–उभौली पर्वका अवसरमा विशेष पूजा गरिन्छ। साथै यहाँ पूजा गर्दा हराएका सामान फेला पर्ने जनविश्वासका कारण पनि दैनिक रूपमा भक्तजनको आगमन हुने गरेको अध्यक्ष घले बताउँछन्।

सिमसारमा दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदामा यो संख्या करिब १० हजारसम्म पुग्ने गर्दछ। ठूलो खुला क्षेत्र भएकाले एकैपटक ७०–८० समूहले वनभोज गर्न सक्ने क्षमता रहेकोले पिकनिक तथा शैक्षिक भ्रमणका लागि यहाँको आकर्षण बढ्दो छ। असोजदेखि माघ–फागुनसम्म पर्यटकको चाप विशेषगरी बढी रहने गर्दछ।

सिमसार क्षेत्र सामुदायिक वन नजिकै रहेकोले साँझपछि हात्ती देखिने सम्भावना हुँदा सुरक्षा व्यवस्थाका लागि ५ः३० बजेपछि पर्यटकलाई बाहिर पठाउने गरिएको छ। यहाँ हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायत विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि उल्लेख्य संख्यामा आउने गर्छन्। चहलपहल बढेपछि स्थानीय आधा दर्जनभन्दा बढी व्यापारीले यहाँ व्यवसाय सञ्चालन गरेका छन्।

प्रदेश सरकारले २०७८/७९ मा २० लाख र २०७६/७७ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरी कम्पाउन्ड, गेट र चिल्ड्रेन पार्क निर्माण गरेको छ। पोखरी जीर्णोद्धार, वन्यजनावरको बासस्थान संरक्षण र सिमसार क्षेत्रको प्रवर्द्धनका लागि संघीय तथा प्रदेश सरकारबाट हरेक वर्ष सहयोग भइरहेको अध्यक्ष घलेले बताए।

Facebook Comments Box