विवाह पञ्चमी महामहोत्सव : बिहीबारदेखि नगरदर्शन
धनुषा, ४ मङ्सिर – जनकपुरधाममा हरेक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबार हुने ‘नगरदर्शन’ कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ। जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइ, सजावट तथा आकर्षक पण्डाल निर्माणको काम तीव्र गतिमा जारी रहेको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।
मन्दिर वरपरका गल्ली, मठ–मन्दिरमा समेत विद्युत् बत्ती जडान कार्य भइरहेको छ। यो वर्ष सरकारी तहबाट सहयोग नपाएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। विगतमा विभिन्न सरकारी निकायले आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक कुनै सहयोग नपाएको उनको भनाइ छ।
यस वर्ष पनि अयोध्या, ऋषिकेश, हरिद्वारलगायत भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी तथा भिक्षु–भिक्षुणी जनकपुरधाम आउने अपेक्षा गरिएको छ। मिथिलाञ्चलको सांस्कृतिक पहिचान झल्काउने यो महोत्सव नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत बनाउने प्रमुख माध्यमका रूपमा वर्षौँदेखि निरन्तरता पाइरहेको छ।
कार्यक्रम तालिका
-
४ मङ्सिर (आज) – नगरदर्शन
-
५ मङ्सिर – फूलबारी लिला
-
६ मङ्सिर – धनुषयज्ञ
-
७ मङ्सिर – तिलकोत्सव
-
८ मङ्सिर – मटकोर
-
९ मङ्सिर – स्वयंवर तथा शुभ विवाह
-
१० मङ्सिर – रामकलेवा विधिसहित समापन
मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने विवाह पञ्चमीमा प्रत्येक वर्ष नेपाल र भारतका विभिन्न ठाउँबाट लाखौँ भक्तजन जनकपुरधाम पुग्ने गर्छन्। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार भीड व्यवस्थापनका लागि सुरक्षा योजना कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त संख्यामा परिचालन गरिने जनाएको छ।

