ऋषिङमा दुई नयाँ मतदान केन्द्र सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन
तनहुँ, २९ कात्तिक – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँमा दुई नयाँ मतदान केन्द्र थप गर्न स्थानीय तहले प्रस्ताव गरेको छ। जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले आवश्यक परे सिफारिस गर्न आग्रह गरेको थियो। सोहीअनुसार ऋषिङ गाउँपालिकाबाट दुई केन्द्र थप्न प्रस्ताव आएको हो।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ऋषिङ गाउँपालिका–४ र ६ मा पहिले एक–एक मतदान केन्द्र मात्र थिए। भूगोल कठिन र बस्ती छरिएको भएकोले मतदातालाई केन्द्रसम्म पुग्न दुई घण्टाभन्दा बढी लाग्ने देखिएकाले थप केन्द्र स्थापना गर्न सिफारिस आएको उहाँले बताउनुभयो। उहाँका शब्दमा, “मतदातालाई सहज बनाउने उद्देश्यले पालिकाबाट अतिरिक्त केन्द्रको माग आएको हो।”
आइतबार बस्ने समितिको बैठकले जिल्लाभरका मतदानस्थल तथा मतदान केन्द्रसम्बन्धी अन्तिम निर्णय गर्नेछ। निर्वाचन आयोगले कात्तिक ३० भित्र प्रस्ताव पठाउन निर्देशन दिएका कारण तयारी तीव्र भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो। यससँगै, ऋषिङ गाउँपालिकाबाट माग गरिएका केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन पनि पूरा गरेको छ।
तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हाल ३०५ मतदान केन्द्र छन्। २०८२ असोज ८ गतेसम्म जिल्लामा कुल दुई लाख ४७ हजार ४ जना मतदाता छन्, जसमा एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९१५ महिला छन्।कात्तिक ३० गतेसम्म नयाँ नामावली दर्ता खुला रहेकाले हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता दर्ता गर्न भीड बढेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो।

