एमालेका नेता पासाङ शेर्पा पक्राउ
काठमाडौँ, १८ कात्तिक – नेकपा (एमाले) का नेता पासाङ शेर्पा बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उक्त मुद्दामा अदालतले शेर्पालाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।
यो विषय यसअघि एमाले सचिवालयको बैठकमा पनि उठेको थियो। बैठकमा सचिव योगेश भट्टराईले ‘सांस्कृतिक विचलन’ को विषय उठाउँदै शेर्पामाथि पार्टीभित्र कारबाहीका रूपमा निलम्बन गर्नुपर्ने सुझाव दिएका थिए।
तर, अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयलाई सामान्य घटना भनेर व्याख्या गर्दै शेर्पालाई निलम्बन नगर्ने अडान लिएका थिए। ओलीको अडानपछि पार्टीले तत्काल कुनै अनुशासनात्मक कदम नचालेको बताइएको छ।

