रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

रुकुम पश्चिम, ८ कात्तिक – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा.१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने, थप एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाखदीकी ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका छन्।

दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइतेहरूमा सिर्जना बुढा (१७), सपना नेपाल (१५), जुना बुढा (१८), संगिता बुढा (१७), शान्ति बुढा (१९), अञ्जना ऐरी (१७), महिमा ओली (२०), मनिषा थापा (१७), सविता विक (१५) र चालक टोपजङ्ग बुढा (३४) रहेका छन्।

घाइतेमध्ये नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ७०० मिटर तल खसेको थियो। ओभरलोड र साँघुरो सडक खण्ड दुर्घटनाको मुख्य कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Facebook Comments Box