मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
काठमाडौँ, ७ कात्तिक — प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण हुँदै आएको औषधि बरामद गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ टोखा नगरपालिका–५, बसुन्धरास्थित तक्षक फार्मेसीमा छापा मार्दा चिकित्सकको प्रिस्क्रिप्सनमा मात्र बिक्री गर्नुपर्ने औषधि बिना अनुमति बिक्री भइरहेको भेटिएको हो। प्रहरीले फार्मेसीबाट तलका औषधि बरामद गरेको जनाएको छः
-
स्पेन लेखिएको ३८५ ट्याबलेट
-
एन्टिकोफ लेखिएको ७५० ट्याबलेट
-
प्रिगेबलिन लेखिएको १०० ट्याबलेट
-
प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल
-
प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल
वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार फार्मेसीको सञ्चालक सङ्खुवासभा खादवारी नगरपालिका–८का ४० वर्षीय प्रकाश गौतम रहेको खुलेको छ। औषधि व्यवस्था विभागसँगको समन्वयपछि ती औषधि मापदण्ड विपरीत बिक्री र वितरण गरिएको पुष्टि भएको प्रहरीको भनाइ छ। प्रहरीले बरामद औषधि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

