ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौँ, २ असोज — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा आज भएको बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।

बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।

महानिर्देशक अधिकारीका अनुसार ७० वर्षभन्दा माथिका नागरिकलाई अधिकतम हवाई भाडादरमा ५० प्रतिशत, ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिएको छ।

उहाँले यो निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, वायुसेवा कम्पनीहरूलाई आजैदेखि निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको बताउनुभयो। प्राधिकरणका अनुसार यो योजना विशेष गरी दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

महानिर्देशक अधिकारीले थप भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुका हितमा आगामी दिनमा अझ जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ।”

Facebook Comments Box