तेइस अर्बभन्दा बढीको बीमा दाबी, डेढ अर्बभन्दा बढी भुक्तानी

काठमाडौँ, २६ असोज – भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिको कारण हालसम्म करिब रु २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले अहिलेसम्म रु १ अर्ब ५८ करोड ५६ लाख बराबरको रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।

प्राधिकरणले बीमाबापतको रकम सहज र छिटो उपलब्ध गराउन सक्रिय भूमिका निर्वाह गरेकाले अग्रिम भुक्तानीको प्रक्रिया तीव्र भएको जनाएको छ। हालसम्म ३,०९९ वटा बीमा दाबी परेको छ । जसमा ६५३ सम्पत्ति बीमा, २,२०६ मोटर बीमा, १९० इन्जिनियरिङ/ठेक्का जोखिम बीमा, १२ परिवहन बीमा र ३८ अन्य बीमा रहेका छन्।

प्रदेशगत रूपमा हेर्दा, कोशीमा ३९६, मधेसमा ३५५, वाग्मतीमा १,६६९, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिममा १९९ बीमा दाबी दर्ता भएका छन्। बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्समा सबैभन्दा बढी रु ५ अर्ब ६१ करोड ४४ लाख बराबरको दाबी दर्ता भएको छ । कम्पनीले हालसम्म रु ५९ करोड ४४ लाख भुक्तानी गरेको छ।

त्यसपछि दी ओरियण्टल इन्स्योरेन्समा रु ५ अर्ब २४ करोड ४७ लाख बराबरको दाबी दर्ता भएको छ तर कम्पनीले हालसम्म रु ५ लाख ७० हजार मात्र भुक्तानी गरेको छ। त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले रु २ अर्ब ७५ करोड ९७ लाख बराबरको दाबी पाएको र रु ३० करोड ४३ लाख वितरण गरेको छ। शिखर इन्स्योरेन्समा रु २ अर्ब ४० करोड ८६ लाख बराबरको दाबी दर्ता भई रु ३१ करोड ९४ लाख भुक्तानी गरिएको छ।

हाल मुलुकभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। आन्दोलनका क्रममा क्षति भएका निजी सम्पत्तिहरूको बीमा भएको पाइए पनि सरकारी र सार्वजनिक सम्पत्तिको बीमा नभएको बीमा प्राधिकरणले जनाएको छ।

Facebook Comments Box