तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
दाङ, २२ असोज – तिहार नजिकिँदै जाँदा दाङको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी मादल बनाउन र मर्मत गर्न व्यस्त भएका छन्। कमेरोले लिपिएको चिटिक्क परेको कच्ची घरको सानो आँगन अहिले ठूला–साना मादलले भरिएको छ। बिहान सबेरैदेखि बेलुकीसम्म उनी मादलमा खरी भर्ने, छाला फेर्ने र मादल कस्ने काममै व्यस्त देखिन्छन्।
सात दशक पार गरिसकेका चित्रे बादीका अनुसार तिहारको समयमा मादलको माग अत्यधिक हुन्छ। “अरु बेला भन्दा तिहारमा मादल धेरै बन्छ र बिक्री पनि राम्रै हुन्छ,” उनी भन्छन्, “यही समयमा आम्दानी राम्रो हुने गर्छ।” चित्रे बादीले १२ वर्षको उमेरदेखि नै मादल बनाउने सीप सिकेका हुन्। उनका बुबा गुइठे बादी पनि यही पेशामा थिए। “बुवाको हात हेरेरै सिकेको हो, अहिले यही पेसाले चार छोरा र दुई छोरी हुर्काएँ,” उनले सुनाए।
तिहारमा देउसी–भैलो खेल्नेहरू उनका नियमित ग्राहक हुन्। हरेक वर्ष घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान, रोल्पा लगायत स्थानबाट मानिसहरू नयाँ मादल किन्न, मादलमा खरी हाल्न वा मर्मत गर्न आउने गर्छन्। मादलको आकार र काठको गुणस्तरअनुसार एक थान मादल रु ७ हजारदेखि १५ हजारसम्ममा बिक्री हुने उनी बताउँछन्।
चित्रे बादीको मादल बनाउने कार्यमा उनकी श्रीमती भूमि बादी सघाउँछिन्। “मादल बनाउन सक्दिन तर श्रीमानको काममा सधैं सहयोग गर्छु,” भूमि भन्छिन्, “खरी बनाउन, छाला काट्न र मादल सुकाउनका काम म गर्छु।” उनीहरूको कान्छो छोरा पनि अहिले यही सीप सिक्दैछ।
मादल बनाउन उनी खिर्रो, मौवा, मलेतो र खमारी जस्ता काठ प्रयोग गर्छन्। तीमध्ये मौवा र खमारीको काठबाट बनेका मादलमा ध्वनि राम्रो आउने उनको अनुभव छ। तिहारको रौनकसँगै चित्रे बादीको घरमा मादलको तालले पनि बस्तीभरि चहलपहल ल्याएको छ।

