पाँच वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको ठेकेदारको जमानत जफत
पर्वत, २२ असोजः पटक – पटक म्याद थप्दा पनि पाँच वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको ठेकेदारको जमानत रकम जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा लिएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा, काठमाडौँको मोबिलाइजेशन पेस्कीबापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो।
यो सडक निर्माणका लागि २०७८ जेठ १८ गते सम्झौता गरिएको थियो। सम्झौता अनुसार ठेकेदारले १८ महिनाभित्र, अर्थात् २०७९ फागुन १७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो। तर, ठेकेदारले प्रारम्भिक सडक चक्ल्याउने कामबाहेक अन्य काम नगरेको पाइएको छ। म्याद पटक–पटक थप्दै २०८१ चैत २९ गतेसम्म समय दिँदापनि काम अघि नबढेपछि कार्यालयले अन्ततः जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो।
झण्डै ६ किलोमिटर लम्बाइको उक्त सडक ११ करोड २२ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको थियो। निर्धारित अवधिसम्म भौतिक तथा वित्तीय दुवै प्रगति ३५ प्रतिशतमै सीमित रहेको थियो। कार्यालयले ठेकेदारलाई पटक–पटक मौखिक र लिखित रूपमा काममा फर्किन आग्रह गरे पनि बेवास्ता गरेपछि ठेक्का तोड्ने तयारी भइरहेको बताइएको छ।
निर्माण सुरु गरेपछि ठेकेदार कम्पनी सम्पर्कविहीन बनेको र सडक झनै अस्तव्यस्त भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो। उहाँका अनुसार सडकको दुरावस्थाका कारण गाउँपालिकाको कार्यालय रहेको वडा नं. ५ काफलडाँडा र बालाकोट–होश्राङदी क्षेत्रका बासिन्दालाई दैनिक आवागमनमा समस्या भइरहेको छ।
निर्माण सुरु भएपछि कम्पनीले ४ करोड १३ लाख रुपैयाँ भुक्तानी पाएको थियो। तर, त्यसपछि काम रोकिएको र सम्पर्क नआएकोले अब थप कानुनी कारबाही अघि बढाइएको कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गत रहेको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीमाथि कडाइका साथ कारबाही गर्नुपर्ने स्थानीयवासीको माग छ।

