सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट
सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाको अवसरमा भएको सामान्य विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको दलित बस्तीमा तोडफोड र लुटपाट भएको छ। घटनाबाट पाँच दलित परिवार विस्थापितजस्तै भएका छन्।
गाउँमा विश्वकर्मा पूजाका अवसरमा आयोजना गरिएको आर्केष्ट्रामा नाचगानका क्रममा केहीले मदिरा सेवन गरेका थिए। सो क्रममा दलित युवाहरू र स्थानीय प्रभाषसिंह राजपुतबीच सामान्य भनाभन भएको थियो। सुरुमा सानो देखिएको विवाद पछि झन् चर्किँदै गएपछि दलित परिवारहरूलाई बस्तीबाट उठाइदिने धम्कीसम्म दिइयो।
सुरक्षाको माग गर्दै पीडितहरू इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए। प्रहरीले विवाद समाधानका लागि असोज १२ गते छलफल बोलाएको थियो, तर छलफल हुन नसकेपछि अर्को मिति असोज २१ गते तोकिएको थियो। तर त्यसअघि नै असोज १७ गते दिउँसो करिब २ बजेतिर करिब २०–२५ जनाको समूहले दलित बस्तीमा आक्रमण गरी तोडफोड र लुटपाट गरेको पीडितहरूले बताएका छन्।
पीडित सोभित पासमानका अनुसार, “तोडफोड र लुटपाट हुँदा प्रहरीका केही व्यक्ति घटनास्थलमै थिए, तर उनीहरूले रोक्ने प्रयास नै गरेनन्, जसले हामीलाई अझै भयभीत बनायो।” उक्त समूहले पाँचवटा घरमा लुटपाट गरेको जनाइएको छ। अशोक पासमानको घरबाट करिब चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट चार आना सुन, १० तोला चाँदीका गहना र रु १८ हजार नगद, र बिन्दे पासमानको घरबाट दुई आना सुन, २० तोला चाँदी र रु ३ हजार लुटिएको पीडितहरूले बताएका छन्।
त्यसैगरी, खाना पकाउने भाँडा, लत्ताकपडा, बगैंचाका आँप, अम्बा, केरा र कागतीका बोटसमेत नष्ट गरिएको छ। पाँच परिवारका करिब ३० जना अहिले अलपत्र अवस्थामा रहेको पीडित राजकुमार पासमानले बताएका छन्। घटनापछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए। उनीहरूले तत्कालका लागि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए।
१३ जनाविरुद्ध किटानी जाहेरी
बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। पीडितहरूले सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयामा आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका छन्। जाहेरीमा वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका नाम समावेश छन्।
वडाध्यक्षसहित तीन जना पक्राउ
प्रहरीले भिड उक्साएको आरोपमा वडाध्यक्ष यादवलाई गत शनिबारै पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरी नायब उपरीक्षक राजेशराज पुरीका अनुसार, जाहेरीमा नाम रहेका कामती र कलास सिंहलाई समेत पक्राउ गरिएको छ भने अन्य व्यक्तिहरूको खोजतलास र अनुसन्धान जारी छ।
पीडित परिवारलाई राहत
पीडित परिवारहरूलाई कल्याणपुर नगरपालिकाले सोमबार राहत वितरण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रत्येक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको छ।
कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले पीडित परिवारका लागि आवास व्यवस्थापनबारे पनि छलफल भइरहेको बताउँदै भनिन्, “हामीले तत्कालका लागि राहत वितरण गरेका छौं, अब स्थायी आवास व्यवस्थापनका लागि पनि पहल गर्दैछौं।”

