आज घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौँ, १३ असोज – दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घरघरमा परम्परागत रीतिअनुसार भित्र्याइँदैछ। दशैँ घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने प्रचलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार फूलपातीलाई ‘नवपत्रिका’ पनि भनिन्छ र यसलाई नववटी देवीको प्रतीक मानिन्छ।
“केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ,” भट्टराईले बताए।
फूलपाती भित्र्याएपछि नौवटै देवीको वैदिक विधिअनुसार पूजा आराधना गरिन्छ। यसका लागि विशेष साइतको आवश्यकता नपर्ने समितिको भनाइ छ।
हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट फूलपाती ल्याउने परम्परा झण्डै दुई शताब्दीयदेखि चल्दै आएको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जना फूलपाती ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म ब्राह्मणहरुले बोकेर ल्याउने परम्परा छ।
जमलदेखि हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा र पञ्चेबाजासहितको लावालस्करसँगै फूलपाती भित्र्याइने गरिन्छ।
राजतन्त्रकालमा राजाको उपस्थितिमा सम्पन्न हुने यो समारोह गणतन्त्र स्थापना पछि संस्कृति मन्त्रीको उपस्थितिमा हुँदै आएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। यस वर्ष फूलपाती सोमबार अपराह्न ४:३० बजे भित्र्याइने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ। घटस्थापनादेखि सुरु हुने दुर्गापूजाको धार्मिक र सामाजिक चहलपहल भने आजैदेखि तीव्र हुने परम्परा रहेको छ।

