धौलागिरि हिमाल आरोहण सुरु

म्याग्दी, १३ असोज – म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) मा चालु शरदयामको आरोहण सुरु भएको छ।

सेभन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक पर्वतारोहीले आइतबार धौलागिरिको सफल आरोहण गरेका छन्।

सफल आरोहण गर्नेमा स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सकी क्याथरिन मार्सेल रोजा बरी र नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पा रहेका छन्।

सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार चुचुरोसम्म बाटो खोलेका थिए भने शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न गरिएको थियो।

पर्यटन विभागका अनुसार यस शरदयाममा धौलागिरि आरोहणका लागि तीन समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन्।

अनुमति शुल्कबापत रु ५० लाख ७१ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ। गत वसन्तयाममा दुई समूहका १५ जनाले अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० संकलन भएको थियो।

धौलागिरि आरोहणलाई अन्य हिमालभन्दा बढी जोखिमपूर्ण मानिन्छ। छिनछिनमा परिवर्तन हुने मौसम यहाँको मुख्य चुनौती हो। सन् १९६० मे १३ मा अष्ट्रियाली पर्वतारोही कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलो पटक धौलागिरि हिमाल आरोहण गरेको इतिहास छ।

Facebook Comments Box