‘जेनजी’ आन्दोलन : बनेपा नगरपालिकामा करिब रु १० करोडको क्षति
काभ्रेपलाञ्चोक, १२ असोज – गत भदौ तेस्रो सातामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण बनेपा नगरपालिकामा करिब रु १० करोड बराबरको क्षति पुगेको नगरपालिकाले जनाएको छ।
नगर कार्यालयको प्राविधिक मूल्याङ्कनअनुसार नगरको मुख्य प्रशासनिक भवन, योजना तथा प्राविधिक शाखा रहेका भवनसहित सम्पूर्ण संरचना र सामग्री जलेर नष्ट भएका छन्। विसं २०४३ मा निर्माण भएको तीनतले प्रशासनिक भवन मात्रमा रु पाँच करोड ४२ लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।
आन्दोलनका क्रममा प्रशासनिक भवनको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, राजस्व, सहकारी, दर्ता–चलानीसहितका शाखा र तिनमा रहेका अभिलेख र दस्तावेज पूर्ण रूपमा जलेका छन्।
दोस्रो तलामा नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष, सचिवालय, न्यायिक समितिको इजलास कक्ष, शिक्षा तथा कानुन शाखा पूर्ण रूपमा नष्ट भएका छन् भने तेस्रो तलामा आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम र लेखा शाखाका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जनाइएको छ।
त्यस्तै, योजना र प्राविधिक शाखा रहेको भवनका सम्पूर्ण कक्ष जलेका छन्। सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनका सबै सामग्री पनि नष्ट भएका छन्। साथै, मिनी ट्रक, तीन ट्याक्टर, टिपर, मोटरसाइकल, दुई कार, एक जीप र पाँच साइकलसहित करिब रु एक करोड ५० लाख मूल्यका सवारीसाधन क्षतिग्रस्त भएका छन्।
यसबाहेक ४४ वटा डेक्सटप कम्प्युटर, १६ ल्यापटप, १४ ट्याबलेट, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल र भिडियो क्यामेरा, टेलिभिजनसहित ६१ प्रकारका सामग्री जलेर वा चोरी भई करिब रु आठ करोड २२ लाख बराबरको क्षति भएको मूल्याङ्कनमा उल्लेख छ।
विपद् व्यवस्थापनका सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री र पितलका कोपडा, धलौटका घण्टी, सूर्यनारायणको मूर्ति, ढुङ्गाका शिलापत्र, मुखुण्डोसहितका पुरातात्विक सम्पदा पनि जलेर वा चोरी भएको जनाइएको छ।
नगरप्रमुख शान्तिरत्न शाक्यका अनुसार तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराइएको छ। हाल अस्थायी रूपमा बनेपा–१० वडा कार्यालयमार्फत नगरपालिका सेवा सञ्चालन गरिएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेमा मात्रै १८ वटा सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका छन्। आन्दोलनकै क्रममा काठमाडौँमा काभ्रेका चार जनाको ज्यान गएको पनि नगरले जनाएको छ।

