अझै कायम छ ‘बालीघरे प्रथा’

भोजपुर, १० असोज – ग्रामीण भेगका गाउँघरमा ‘बालीघरे प्रथा’ अझै पनि कायम रहेको छ। नगर दलित सञ्जालका अनुसार यहाँका करिब ४० प्रतिशत दलित समुदाय हालसम्म पनि बालीघरे प्रथामा आवद्ध छन्। बालीघरे भन्नाले सीपमूलक काम गरेबापत नगद ज्यालाको सट्टा अन्न (बाली) लिने परम्परागत चलनलाई बुझिन्छ।

गाउँघरमा फलाम कुट्ने, धारे लगाउने, फलामका सामग्री मर्मत गर्ने, कपडा सिलाउनेजस्ता काम गर्ने दलित समुदायका लागि यो चलन बाध्यता बनेको छ। वर्षभर काम गरेबापत उनीहरूले धान–गहुँजस्ता अन्नसँगै चाडपर्वका अवसरमा मासु, चामल, नुन र सेलरोटी पाउने परम्परा अझै पनि जीवित छ।

देशमा सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि बाउबाजेको पेशा निरन्तरता पाउँदै आएको सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले बताउनुभयो। उहाँका अनुसार केही सुधार भए पनि अझै पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्न बाध्य छन्।

“हामीजस्ता अभियन्ताले विभिन्न अभियान सञ्चालन गरेका छौँ, तर त्यो पर्याप्त हुन सकेको छैन,” अध्यक्ष रणपहेलीले भन्नुभयो, “गरिबीका कारण यो चलन हट्न सकेको छैन। उचित ज्याला नपाइने भएकाले पछिल्लो समय युवापुस्तामा भने यो पेशाप्रति रुचि कम हुँदै गएको छ।” सामाजिक सचेतना र विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका भए पनि बालीघरे प्रथा ग्रामीण भेगमा अझै पनि अन्त्य हुन सकेको छैन।

Facebook Comments Box