राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ९ असोज – राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित औपचारिक कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार कार्यक्रममा आयोगका पदाधिकारी र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। संविधानको धारा २५५ अनुसार स्थापना भएको राष्ट्रिय दलित आयोग दलित समुदायको अधिकार र हित संरक्षणका लागि काम गर्ने संवैधानिक निकाय हो।

आयोगले जातीय छुवाछुत, विभेद र उत्पीडन अन्त्यका लागि नीति सिफारिस गर्ने, कार्यान्वयनमा सरकारलाई सहयोग पुर्‍याउने र आवश्यक प्रतिवेदन पेश गर्ने जिम्मेवारी वहन गर्छ।

आयोगका अनुसार यस वर्षको प्रतिवेदनमा दलित समुदायमाथि भइरहेका सामाजिक विभेद, कानुनी उपचारका चुनौती र सुधारका सुझावहरू समावेश छन्।

Facebook Comments Box