जनता बहुमुखी क्याम्पसलाई नौ बिघाभन्दा बढी जग्गा प्राप्त
महोत्तरी, ५ भदौ
महोत्तरीको बर्दिबास–१४ मा अवस्थित जनता बहुमुखी क्याम्पसले नौ बिघाभन्दा बढी जग्गा प्राप्त गरेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई उच्च शिक्षा उपलब्ध गराउँदै आएको यो क्याम्पस विद्यार्थी संख्यामा बर्सेनि वृद्धि भइरहेका बेला पर्याप्त भौतिक संरचना अभाव झेल्दै आएको थियो । नयाँ जग्गा उपलब्ध भएपछि क्याम्पस विस्तारको बाटो खुलेको छ ।
विसं २०६४ मा बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालनमा आएको क्याम्पसले पाँच/छ वर्षपछि बर्दिबास–१४ मा छ कट्ठा जग्गामा भवन निर्माण गरी कक्षा सञ्चालन गर्दै आएको थियो । हाल त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन भइरहेको यस क्याम्पसमा एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।
तर विद्यार्थी संख्या तीव्र गतिमा बढिरहेको अवस्थामा भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा समस्या झेल्दै आएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल प्राप्त भएको नौ बिघा एक कट्ठा नौ धुर जग्गामा भवन, खेलमैदान, उद्यान तथा छात्रावास निर्माण गरिने योजना रहेको छ ।
“जग्गाको समस्या अब समाधान भएको छ, अब स्रोतसाधन जुटाएर संरचना निर्माणको काम अघि बढाउनेछौँ,” अध्यक्ष हमालले भन्नुभयो । क्याम्पसले पाएको उक्त जग्गा बर्दिबास नगरपालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको जग्गा प्राप्ति सिफारिस समितिको निर्णयअनुसार उपलब्ध भएको जनाइएको छ ।
यस क्याम्पसमा महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही, गौशाला नगरपालिकासँगै धनुषाको मिथिला नगरपालिकाबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । यहाँ छात्राभन्दा छात्रा बढी रहेका छन् । क्याम्पस प्रमुख सीताराम खड्काका अनुसार हाल कूल विद्यार्थीमध्ये करिब ६० प्रतिशत छात्रा छन् ।
क्याम्पसमा हाल वाणिज्य र शिक्षा सङ्कायअन्तर्गत स्नातक तहको अध्ययन भइरहेको छ भने शिक्षा सङ्कायमा स्वास्थ्य र नेपाली विषयमा स्नातकोत्तर तहसम्म पठनपाठन भइरहेको छ । साथै स्नातक तहमा मानविकी सङ्काय र स्नातकोत्तर तहमा वाणिज्य विषय थपका लागि स्वीकृतिका प्रक्रिया अघि बढाइएको क्याम्पस प्रशासनले जनाएको छ ।

