रूसमा ५०० वर्षपछि क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट, हवाई मार्ग बन्द

मस्को, १९ साउन — रूसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का द्वीपमा अवस्थित क्रशेनिनिकोभ ज्वालामुखी ५०० वर्षपछि पुनः विस्फोट भएको छ। रूसी अधिकारीहरूले आइतबार औपचारिक रूपमा यो जानकारी दिएका हुन्।

२ अगस्टमा भएको विस्फोटका कारण ज्वालामुखीबाट करिब ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो आकाशमा फैलिएको थियो, जसका कारण सो क्षेत्रको हवाई मार्ग बन्द गर्नुपरेको बीबीसीले जनाएको छ। हालसम्म विस्फोटका कारण कुनै जनधनको क्षति नभएको र मानव बस्तीमा प्रत्यक्ष असर नगरेको रूसी अधिकारीहरूले बताएका छन्।

क्रशेनिनिकोभ ज्वालामुखी १५ औँ शताब्दीपछि पहिलोपटक सक्रिय भएको हो। वैज्ञानिकहरूका अनुसार यो विस्फोट चार दिनअघि कामचाट्कामा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ। ‘Volcanic Eruption Response Team’ प्रमुख ओल्गा गिरिनाले भूकम्प र ज्वालामुखी विस्फोटबीच सम्बन्ध हुनसक्ने संकेत गरेकी छन्।

कामचाट्का द्वीप ‘रिंग अफ फायर’ मा पर्छ, जुन भूगर्भीय दृष्टिले अत्यधिक सक्रिय क्षेत्र हो। यो क्षेत्रमा विश्वका ७५ प्रतिशत सक्रिय ज्वालामुखी र ९० प्रतिशत भूकम्पहरू हुने गर्छन्। करिब ४० हजार किलोमिटर लम्बाइमा फैलिएको रिंग अफ फायर जापान, रूस, अमेरिका, चिली, फिलिपिन्स, इन्डोनेसिया, मेक्सिको, क्यानडा, पेरु, इक्वेडर, कोस्टारिका, ग्वाटेमाला, न्युजिल्यान्ड, अन्टार्कटिका र बोलिभिया जस्ता १५ देशहरूमा फैलिएको छ।

गत बुधबार गएको ८.८ म्याग्निच्युडको भूकम्प पछिल्ला वर्षको एक छैटौं शक्तिशाली भूकम्प हो। त्यसपछि कुरिल द्वीपमा ७ म्याग्निच्युडको परकम्प महसुस गरिएको थियो। भूकम्पपछि रूस, अमेरिका, जापान र चिलीले सुनामीको चेतावनी जारी गरेका थिए।

जापानले त आफ्नो फुकुशिमा परमाणु रिएक्टर खाली गराउँदै लाखौँ नागरिकलाई सुरक्षित स्थानमा सार्न आदेशसमेत दिएको थियो। जुलाई महिनामै कामचाट्का नजिकैको समुद्रमा ६ वटा शक्तिशाली भूकम्प आएका थिए, जसमा एकको तीव्रता ७.४ म्याग्निच्युड थियो। इतिहासमा सन् १९५२ को नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसले ९.१ मिटर अग्ला छालहरू उत्पन्न गरे पनि मानवीय क्षति भने नभएको इतिहास छ।

Facebook Comments Box