भारतमा तस्करी गरिएका सात किशोरीको उद्धार

झापा, १७ साउन – वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ।

माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार किशोरीहरूलाई भारतको सिलिगुढी लैजाँदै गर्दा भारतीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई खोरीबारी प्रहरी थानामा राखिएको छ।

उद्धार गरिएका किशोरीहरू सबै सङ्खुवासभा जिल्लाका हुन्। उनीहरूलाई तस्करी गर्ने दुई जना पुरुष पनि पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तहरूमा भारत दार्जिलिङका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभा मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्।

उनीहरूले हङ्कङ रोजगारीको लोभ देखाएर किशोरीहरूलाई काँकडभिट्टा हुँदै भारतीय क्षेत्र पानीटङ्की नाकामा पुर्‍याएका थिए। त्यसपछि नक्कली आधार कार्डलगायतका कागजात बनाएर सिलिगुढी लैजाँदै गर्दा उनीहरू समातिएका हुन्।

किशोरीहरूलाई नेपाल फर्काउन माइती नेपालको टोली पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाउँदै भारतीय प्रहरीले उनीहरूलाई तत्काल नछाडेको संयोजक घिमिरेले जानकारी दिनुभयो।

घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने भारतीय पक्षबाट औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।

Facebook Comments Box