पूर्वप्रदेश प्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा
काठमाडौँ, १४ साउन – मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार आरोपसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।अहिराजलाई हाल डिल्लीबजार कारागारमा पठाइएको छ।
राजेश अहिराजविरुद्ध एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार, २०८१ जेठ ४ गते काठमाडौँको नयाँ बानेश्वरस्थित डेरामा उनले जबरजस्ती करणी गरेको आरोप लागेको हो।
उनी साउन ४ गते पक्राउ परेका थिए। त्यसपछिको ९ दिनभित्र प्रहरी अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अहिराजले भने आफूमाथि आरोप लगाउने ती युवतीविरुद्ध उल्टै मुद्दा दायर गरेका छन्। उनले आरोपलाई अस्वीकार गर्दै आफू निर्दोष भएको दाबी गरेका छन्।

