पुनर्निर्माण हुँदै भानु घाँसी पार्क, आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने तयारी

तनहुँ, ९ साउन – मुग्लिन–पोखरा सडक विस्तारका कारण विस्थापित भएको भानु घाँसी पार्क पुनर्निर्माण हुने भएको छ। तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा अवस्थित यस ऐतिहासिक पार्कलाई सडक योजना (पूर्वी खण्ड) अन्तर्गत पुनः निर्माण गरिने भएको हो।

सडक मापदण्डभित्र परेकाले पार्कको संरचना भत्किएपछि, मुग्लिन–पोखरा सडक आयोजनाकै सहयोगमा पार्क पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ। भानु घाँसी स्मारक संरक्षण समितिका उपाध्यक्ष गोपाल सुर्खालीका अनुसार, राष्ट्रिय विभूति भानुभक्त आचार्यको सम्मानमा निर्माण गरिएको पार्कलाई आधुनिक र आकर्षक बनाउने लक्ष्य राखिएको छ।

सुर्खालीले भन्नुभयो, “सडक विस्तारका क्रममा पार्क नै नष्ट भयो, अब आयोजना सहयोगमा पुनर्निर्माण गरिनेछ।” डिपिआरअनुसार रु ३ करोड ५३ लाख लागत अनुमान गरिएको छ र योजना स्वीकृतिका लागि एसियाली विकास बैंक (एडिबी) समक्ष पेश गरिएको छ। स्वीकृति प्राप्त भएपछि निर्माण कार्य प्रारम्भ गरिने बताइएको छ।

पार्कमा आधुनिक संरचना र सांस्कृतिक झल्को

हाल पार्क क्षेत्रमा भानुभक्त आचार्य र घाँसी कुवाको पुरानो सालिक मात्र रहेको छ। पुनर्निर्माणपछि ती सालिकलाई पनि आकर्षक र सुसज्जित बनाइने छ। पार्कभित्र:

  • सार्वजनिक शौचालय

  • स्थानीय उत्पादनको बिक्री केन्द्र

  • पार्किङ स्थल

  • नेपाली झण्डा र आकर्षक प्रवेशद्वार

  • भानुभक्त र मोतीराम भट्टको अर्धकद सालिक

  • बुल्दी किनारसम्म पुग्ने पहुँचमार्ग

  • पैदल मार्ग र विश्रामस्थल जस्ता संरचना निर्माण गरिने छन्।

इञ्जिनियर मन्दीप श्रेष्ठका अनुसार, निभा कन्सल्टेन्सीमार्फत डिपिआर तयार पारिएको हो।

सांस्कृतिक केन्द्रको रूपमा विकास गर्ने योजना

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भानु घाँसी पार्कलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। उहाँले भन्नुभयो, “यो क्षेत्र तनहुँसुर जाने ऐतिहासिक प्रवेशद्वार हो। यसलाई नगरका धार्मिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसार गर्ने सूचना केन्द्रका रूपमा विकास गर्नुपर्छ।”

पाँच किलोमिटर दूरीमा रहेको पार्क क्षेत्रमा सडक विस्तार अघि स–साना टहरा र व्यवसायिक गतिविधिका कारण चहलपहल बढी थियो। तर संरचना भत्किएपछि अहिले पार्क सुनसान छ। व्यवस्थित पुनर्निर्माणपछि पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।

Facebook Comments Box