मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ, ७ साउन – अनावृष्टि र भूमिगत पानीको अभावका कारण उत्पन्न संकटलाई मध्यनजर गर्दै मधेस प्रदेशका आठवटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
गृहमन्त्री रमेश लेखकको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। मधेस प्रदेश सरकारले मंगलबार नै सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गरेको थियो।
गृहमन्त्रालयका अनुसार अनावृष्टिका कारण भूमिगत जलस्रोत सुक्दै गएको, नदी र कुलोमा जलसतह घटेको, र सिँचाइ तथा खानेपानीमा चरम अभाव देखिएको कारण यो निर्णय आवश्यक देखिएको हो।
सङ्घीय सरकारको निर्णयपछि अब यो घोषणा नेपाल राजपत्रमा प्रकाशित भएको मितिबाट तीन महिनासम्म लागू हुनेछ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २(द) अनुसार, विपद् प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था गरिएको छ।
मधेस प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, यस वर्ष कुल खेतीयोग्य जमिनमध्ये केवल ४६ प्रतिशत क्षेत्रमै रोपाइँ भएको छ। मनसुनमा आधारित कृषि प्रणाली भएका कारण सुक्खाले उत्पादनमा गम्भीर असर पर्ने आँकलन गरिएको छ।

