कर्णालीमा ५० स्थानमा तुइन, हटाउने कार्यका लागि तथ्याङ्क संकलन
सुर्खेत, ५ साउन — कर्णाली प्रदेश सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुसार प्रारम्भिक तथ्याङ्क संकलन गरेको छ। हालसम्म प्राप्त विवरणअनुसार प्रदेशका विभिन्न १० जिल्लामध्ये सात जिल्लामा ५० स्थानमा तुइन रहेको पाइएको छ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार तुइन विस्थापित गर्न विवरण माग गरिएको थियो। उनले भने, “प्रदेशको पूर्वाधार विकास कार्यालयमार्फत प्राप्त प्रारम्भिक विवरणअनुसार कर्णालीमा हाल ५० वटा तुइन छन्।”
तथ्याङ्कअनुसार हुम्ला जिल्लामा सबैभन्दा धेरै १५ वटा तुइन रहेका छन्, जसमा ६ वटा तुइन कर्णाली नदीमाथि रहेका छन्। त्यसपछि कालीकोट र जाजरकोटमा १२/१२ वटा, सुर्खेतमा ८ वटा, डोल्पामा ३ वटा, र दैलेख तथा मुगुमा २/२ वटा तुइन रहेको जानकारी प्राप्त भएको छ। दैलेख, जुम्ला र रुकुम पश्चिमबाट भने विवरण प्राप्त भइनसकेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ भित्रै कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ। उक्त योजनालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्दै रु १ करोड ५० लाख बजेट समेत विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए। उनका अनुसार, “तुइन विस्थापन गरेर आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ।”

