पानी नपरेपछि महोत्तरीका किसान चिन्तित, रोपाइँ २५ प्रतिशतमै सीमित

महोत्तरी, ५ साउन – लगातारको खडेरीका कारण महोत्तरी जिल्लामा धान रोपाइँ कार्य प्रभावित भएको छ। साउनको पहिलो साता बित्न लाग्दा पनि जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवका अनुसार जिल्लाका १५ स्थानीय तहमा रहेको ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार ९७७ हेक्टरमा नियमित रूपमा खेती हुँदै आएको छ। चालु वर्ष ४० हजार हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ।

उहाँले भन्नुभयो, “जिल्लाको उत्तर–पश्चिमी भेगमा रहेका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवा, ट्युबवेल आदिको सहायताले रोपाइँ गरिरहेका छन्। तर हालसम्म जिल्लाभर २५ प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन।” प्रमुख यादवले महोत्तरीमा सतह सिँचाइको सुविधा नहुँदा बर्सेनि धान रोपाइँमा समस्या हुने गरेको उल्लेख गर्दै यस वर्ष पनि समयमै रोपाइँ हुन नसकेको बताउनुभयो।

हालसम्म सबैभन्दा बढी रोपाइँ सोनमा गाउँपालिका (४०%) र सबैभन्दा कम मनराशिस्वा नगरपालिका (१०%) मा भएको जानकारी उहाँले दिनुभयो। उहाँले साउन १५ गतेसम्म पर्याप्त पानी नपरेमा धानका बेर्ना बुढो हुने, नसप्रिने र उत्पादनमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो। उहाँले भने, “भदैया र हर्दिनाथ जस्ता जातका बेर्ना २५ दिनभित्र रोप्दा राम्रो हुन्छ भने सोना मनसुली र बासमती जस्ता जातका बेर्ना ४० दिनसम्म उपयुक्त मानिन्छन्।

तर हाल यी बेर्ना ४० दिन नाघिसकेका छन्।” गत वर्ष जिल्लामा ४२ हजार ५०० हेक्टरमा धान रोपेर १ लाख ५० हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो। तर, यो वर्ष अझ १५ दिनसम्म वर्षा नभएमा उत्पादन उल्लेख्य घट्ने कृषि ज्ञान केन्द्रको अनुमान छ। जलेश्वर नगरपालिका–८ का किसान रामआश्रे मण्डलका अनुसार पानी नपरेर बेर्ना सुक्न थालेका छन् भने केही रोपिएको खेतमा धाँजा फाट्न थालेका छन्।

जलेश्वर–११ का किसान महेन्द्र साहले भने, “पानी पर्ने आशामा खेत जोत्न र बेर्ना राख्न त तयार छौँ, तर पानी नपर्दा बस् हेरेर बस्नुपरेको छ।”

Facebook Comments Box