वसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ, सय दिनमा ३० टन उत्पादनको लक्ष्य
स्याङ्जा, ३ साउन – कृषिलाई पेशाको रूपमा अँगाल्दै स्याङ्जाका दुई दाजुभाइ व्यावसायिक काँक्रोखेतीमा रमाउँदै छन्। आँधीखोला गाउँपालिका–६ टिकाजाका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ स्थित ठूलाखेतमा नौ रोपनी जमिन भाडामा लिएर काँक्रोखेती सुरु गरेका हुन्।
शिक्षक पेशा छाडेर पूर्णकालिक कृषक बनेका सन्तोष पौडेलले यसपटक सबै जमिनमा काँक्रो मात्र लगाइएको जानकारी दिनुभयो। उहाँले उत्पादन सुरु भइसकेको र काँक्रो स्थानीय बजारमा सहजै बिक्री भइरहेको बताउनुभयो। स्थानीय व्यापारीहरू खेतमै आएर काँक्रो किन्ने गरेका छन्, जसले बजारसम्म पु¥याउने झन्झट हटाएको उहाँको भनाइ छ।
पौडेल दाजुभाइले कर्मा, किङसार र स्टारविज जातका हाइब्रिड काँक्रो खेती गरेका छन्। बालीमा रोग फैलिन नदिने उद्देश्यले एकपटकमा एउटै बाली मात्र लगाउने रणनीति अपनाइएको छ। सन्तोष पौडेलका अनुसार, खेतीमा हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, जाली, तार, उपकरण, औषधि र कामदारको खर्चसमेत गरी करिब दुई लाख रुपैयाँ लगानी भइसकेको छ।
उहाँहरूले सय दिनभित्र ३० टन काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन्। अहिले उत्पादन भइरहेको काँक्रो प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्म बिक्री भइरहेको छ। मूल्य घटबढ भइरहेकाले यकिन भन्न नसकिने उहाँले बताउनुभयो। कृषिसँगै व्यावसायिक कुखुरापालन पनि सुरु गर्न पौडेल दाजुभाइको तयारी रहेको छ। तीन हजार कुखुराको क्षमतासहितको फर्म निर्माणाधीन अवस्थामा छ।
“कृषिमा प्रविधिको प्रयोग नगरे लागत बढ्न जान्छ,” सन्तोष पौडेलले भन्नुभयो, “त्यसैले लागत घटाउने उपायका रूपमा प्रविधिमा जोड दिएका छौँ। कृषिकर्ममा सन्तुष्टि मिलिरहेको छ, हामी रमाएर काम गरिरहेका छौँ।” फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पनि युवा उद्यमशीलता प्रेरणादायी भएको बताउँदै पालिकाले न्यूनतम समर्थन मूल्य र उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले यस्ता व्यावसायिक प्रयासहरूलाई प्राविधिक सहयोगसहित साथ दिन पालिका तयार रहेको स्पष्ट पार्नुभयो।

