कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ, २६ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आगामी २४ घण्टामा कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुने सम्भावनासमेत छ।
रातिको समय पनि देशभर बदली रहनेछ भने सातै प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा हुनसक्नेछ। महाशाखाले सम्भावित बाढी, पहिरो, गेग्र्यान बहाव तथा शहरी डुबानको जोखिमलाई ध्यानमा राखी, सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। साथै, नदी नाला तथा खोलामा पानीको सतह बढ्ने, सडक, हवाई यातायात, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुनसक्ने भएकाले पूर्वतयारी गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

