चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको माग
कैलाली, २१ असार – कैलालीको भजनी नगरपालिका–३ का किसान सन्तलाल चौधरी यसवर्षको चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ। तीन बिघा खेतमा लगाएको धान अझै पनि बिक्री हुन सकेको छैन। व्यापारीहरूलाई पटक–पटक आग्रह गर्दा पनि उहाँको धान उचित मूल्यमा किन्ने कोही छैन।
“व्यापारीहरूले अत्यन्तै सस्तो मूल्यमा धान खोजिरहेका छन्,” चौधरी भन्नुहुन्छ, “त्यो दररेटमा बेच्दा त लागत पनि उठ्दैन। अहिले धान रोपेर पछुतो लागेको छ।”
सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि व्यापारीहरू उक्त मूल्यमा खरिद गर्न इच्छुक देखिएका छैनन्। किसानहरूले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ५०० रुपैयाँसम्ममा धान बेच्न खोज्दा पनि धेरैको धान अझै थन्किएको छ।
गतवर्ष प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँमा धान बेच्न सफल भएका भजनीका अर्का किसान डल्लु दास यसपालिको अवस्था विपरीत भएको बताउनुहुन्छ। “कृषकहरूले अहिले व्यापारीसँग उधारोमै धान दिन थालेका छन्,” उहाँ भन्नुहुन्छ, “पैसा कहिले पाइन्छ भन्ने पनि थाहा छैन।”
भजनी–५ लालभोझीका किसान कृषि बुढाले धान नगदमै जबरजस्ती व्यापारीलाई दिनुपरेको गुनासो गर्नुभयो। “एक बिघा धान लगाउँदा झन्डै १८ हजार खर्च हुन्छ,” उहाँ भन्नुहुन्छ, “बजारको अभावमा लागतभन्दा कम मूल्यमा बेच्छौं।”
भजनीमा यसवर्ष करिब १,००० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ। उत्पादन राम्रो भएको भए पनि बजार अभावले किसान निराश छन्। स्थानीय परदेशु चौधरीले गतवर्षको राम्रो मूल्यले किसान आकर्षित भए पनि यो वर्ष धान थन्किएको बताए। “उत्पादन राम्रो भएपछि खेतको क्षेत्रफल बढायौँ,” उहाँ भन्नुहुन्छ, “अब भने विस्तार गरेकोमा पछुतो लागेको छ।”
अबको चिन्ता भने वर्षातका कारण धान भिज्ने हो कि भन्ने हो। बाढी–डुवानको उच्च जोखिममा रहेको भजनीमा सामान्य वर्षाले पनि घर डुबाउँछ।
स्थानीय बासिन्दा भोजराज कठरिया भन्नुहुन्छ, “धान घरमै राख्न ठाउँ छैन, हुलाकी सडकमै थन्किएको छ। व्यापारीले लिन ढिलाइ गरे बाढीले सबै बगाउने छ।”
किसानको समस्यालाई सम्बोधन गर्न नसकेकोप्रति भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले चिन्ता व्यक्त गर्नुभयो। “प्रदेश, सङ्घीय सरकार र साल्ट ट्रेडिङसँग बारम्बार आग्रह गरिएको छ,” उहाँले भन्नुभयो, “समर्थन मूल्य तोकेको सरकारले नै खरीद नगर्दा व्यापारीले फाइदा उठाएका छन्।”
उहाँले तत्काल किसानको धान न्यूनतम समर्थन मूल्यमै सरकारले खरिद गर्नुपर्ने माग गर्नुभयो। “आज किसानले लागतभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन्,” उहाँले भन्नुभयो, “भोलि तिनै किसान खेती गर्नबाट पछि हट्न सक्छन्।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भजनीमा सञ्चालनमा रहेको ‘धान जोन’ले यसपालि खेतीको क्षेत्र बढेको भए पनि बजार नहुनु किसानका लागि ठूलो चुनौती बनेको छ।

