त्रिविमा लगाइएको ताला खोल्न सर्वोच्चको अन्तरिम आदेश

 काठमाडौं, १८ असार –  सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा लगाइएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ।

अधिवक्ता महेश भट्टराईद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले त्रिविका मूल ढोकासहित तालाबन्दी खोल्न आदेश दिएको हो।

सर्वोच्चले गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई आदेश कार्यान्वयन गर्न निर्देशन दिएको त्रिवि कानुनी सल्लाहकार नारायण प्रसाद खनालले जानकारी दिनुभयो।

१४ जेठदेखि त्रिविमा तालाबन्दी जारी छ। नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) र आंशिक प्राध्यापक संघले आ-आफ्ना माग राख्दै तालाबन्दी गरेका हुन्।

१४ जेठमा स्नातक प्रथम वर्षको भर्ना खुलाउनुपर्ने माग गर्दै विद्यार्थी नेताहरूले पदाधिकारी कार्यकक्षमा ताला लगाएका थिए। त्यसक्रममा केही तोडफोड पनि भएको थियो। संलग्नमध्ये पक्राउ परेका दुई जनालाई प्रहरीले पछि छोडिसकेको छ।

तालाबन्दीका कारण उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल, र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल कार्यकक्ष प्रवेश गर्न नसकी बाहिरै बसेर काम गर्न बाध्य छन्।

३० जेठमा आंशिक प्राध्यापक संघले थप तालाबन्दी गर्दै मूल प्रवेशद्वारमा नै ताला लगाएपछि कर्मचारीहरू समेत कार्यालयभित्र छिर्न नसक्ने स्थिति आएको हो। कर्मचारीहरूले हाल स्मृति भवन, पुल्चोक क्याम्पस, र परीक्षा नियन्त्रण कार्यालय लगायत स्थानमा ल्यापटप बोकेर काम गरिरहेका छन्।

सर्वोच्चको आदेशसँगै त्रिविमा विभिन्न समूहले लगाएका तालाहरू खोलिने पक्का भएको छ। यसले त्रिविको सञ्चालन प्रणाली पुनः सामान्य हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box