प्रधानमन्त्री ओली र स्पेनी समकक्षी सान्चेजबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

स्पेन,  १६ असार – प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच आइतबार साँझ सेभियामा औपचारिक भेटवार्ता सम्पन्न भएको छ। करिब आधा घण्टा चलेको उक्त भेटमा पर्यटन, व्यापार, जलवायु परिवर्तन तथा कूटनीतिक सम्बन्ध विस्तारलगायत विविध विषयमा गहन छलफल भएको राजदूत शनील नेपालले जानकारी दिए।

प्रधानमन्त्री ओली आइतबार बिहान म्याड्रिड आइपुगेपछि अत्याधुनिक उच्च गतिको रेलमार्ग प्रयोग गर्दै दिउँसो सेभिया पुगेका थिए। भेटका क्रममा नेपाली पक्षबाट स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

राजदूत नेपालले जानकारी दिए अनुसार, प्रधानमन्त्री ओलीले स्पेनमा नेपाली दूतावास स्थापना भइसकेको सन्दर्भ उठाउँदै नेपालमै स्पेनी दूतावास खोल्न आग्रह गरेका थिए। साथै, उनले सगरमाथा संवादको चर्चा गर्दै जलवायु परिवर्तनका सन्दर्भमा नेपालको अग्रसरता र नेतृत्वबारे समेत जानकारी गराएका थिए।

स्पेनी प्रधानमन्त्री सान्चेजले नेपालको प्रयासको प्रशंसा गर्दै “नेपालको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा समर्थन गर्न तयार छौं” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, उनले निकट भविष्यमै नेपाल भ्रमणको इच्छा व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमणको निमन्त्रण दिएका छन्।

सान्चेजले “स्पेनबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ र भविष्यमा अझै तीव्र गतिमा वृद्धि हुने आशा व्यक्त गरेका छन्,” राजदूत नेपालले बताए। स्पेनमा सन् २०१८ मा नेपाली दूतावास स्थापना भएयता प्रधानमन्त्रीस्तरीय भेटवार्ता पहिलो पटक भएको हो। प्रधानमन्त्री ओली हाल संयुक्त राष्ट्रसंघको आयोजना रहेको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा छन्।

सोमबार उनले सम्मेलनअन्तर्गतको ‘सिभिल सोसाइटी फोरम’को प्लेनरी समापन सत्रलाई सम्बोधन गर्दै जलवायु संकट, समावेशी विकास र वित्तीय न्यायका विषयमा नेपालको धारणा प्रस्ट पारेका छन्। प्रधानमन्त्री ओली सोमबारकै दिन संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस, इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुली तथा पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

म्याड्रिड आइपुगेपछि प्रधानमन्त्री ओलीले करिब चार घण्टा नेपाली राजदूत निवासमा बिताएका थिए। त्यहाँ उनले दूतावासको कार्यप्रणालीबारे चासो राख्दै, दहीचिउरा खाएर असार १५ को सांस्कृतिक पर्व पनि मनाएका थिए।

Facebook Comments Box