पाल्पामा अण्डा लोड गरेको जीप दुर्घटना, दुईको मृत्यु
पाल्पा, ३ असार – पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित आर्यभन्ज्याङ–रामपुर सडकखण्डमा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा बगनासकाली गाउँपालिका–१, गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवामा बसोबास गर्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका–७ घर भई हाल रूपन्देही मझुवामा बस्ने ४८ वर्षीय रेशम सुनार रहेका छन्। दुबै जनालाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
लु १ च ६७५६ नम्बरको बोलेरो जीप सोमबार बेलुका आर्यभन्ज्याङबाट रामपुरतर्फ जाँदै गर्दा करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनापछि तीनजना गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गम्भीर घाइते चालक बुटवल–११ का ३० वर्षीय राजु खड्काको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

