त्रिवि सेवा आयोगमा नेविसंघको तालाबन्दी

काठमाडौं, १९ असोज – त्रिवि नेविसंघ समितिले त्रिवि सेवा आयोगमा ताला लगाउनुको साथै सेवा आयोग अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा. डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरेको छ । त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाको बाँकी रहेको अन्तर्वार्ता र बढुवाको काम अगाडि बढाएपछि नेविसंघले ताला लगाएका हो ।

पूर्व त्रिवि सेवा आयोग अध्यक्ष प्रा.डा.लालुप्रसाद पौडेलको कार्यकालमा खुला प्रतिस्पर्धाको शिक्षकहरुको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिँदा लिँदै नेविसंघले ताला लगाएपछि रोकिएको थियो । प्रा.डा.लालुप्रसाद पौडेलको कार्यावधि सकिएर पद रिक्त भएको एक वर्षपछि गत साउनमा प्रा.डा. घनश्याम भट्टराई अध्यक्षमा नियुक्त भएका थिए । उनले बाँकी रहेका अन्र्तवार्ता र बढुवाको काम अगाडि बढाएपछि फेरि नेविसंघले ताला लगाएको छ ।

नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘विवादास्पद विज्ञापन र मूल्यांकनका आधारमा त्रिवि सेवा आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने हुँदा प्रकाशित अन्तरवार्ता लगायतका कार्यक्रम तत्काल स्थगित गरि छानबिनको प्रकृया अगाडि नबढाउञ्जेल सम्मका लागि त्रिवि सेवा आयोग अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरिएको साथै त्रिवि सेवा आयोगमा अनिश्चतकालीन तालाबन्दी भएको जानकारी गराउँदछौं ।’

नेविसंघले त्रिवि सेवा आयोगले विगतका विवादास्पद परीक्षा र मूल्यांकनका विषयमा आवश्यक छानवीन गरी पारदर्शी हुनेगरी उपयुक्त निर्णयमा नपुगी विगतकै अपारदर्शी र अनियमित प्रकृयाबाट अगाडि बढाउन खोजेकोले विगतकै अनियमिततालाई निरन्तरता दिन खोजेको पुष्टि भएको दाबी गरेको छ ।

Facebook Comments Box