खोप छानबिन प्रतिवेदन : ५६ हजार ९०८ मात्रा खोप खेर गयो
काठमाडौँ, ४ फागुन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको उल्लेख छ ।
मन्त्री खतिवडालाई हिजो सोमवार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि आज मङ्गलवार मात्र सार्वजनिक गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६ सय ४० मात्रा खोप अहिलेसम्म प्राप्त भएको जनाइएको छ ।
यस्तै तीन करोड ३८ लाख २६ हजार तीन सय ३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६ सय ६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार तीन सय ५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ ।
कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ । यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ ।
Facebook Comments Box

